
एजेन्सी । पोर्चुगलको क्याथोलिक चर्चमा हजारौं बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ ।
क्याथोलिक चर्चका पादरी र पास्टरहरुले हजारौं बालबालिकाको यौन शोषण गरेको प्रतिवेदन अनुसन्धान आयोगले दिएको हाे । सन् १९५० पछिका यौन शोषणका घटनाहरुको अनुसन्धान गरेको आयोगको प्रारम्भिक प्रतिवेदनमा हजारौं बालबालिका यौन शोषणको शिकार भएका छन् । जसमध्ये ४ हजार ८ सय १५ जनाले आफूमाथिको अत्याचारकाे बारेमा बोल्ने हिम्मत गरेको खुलासा भएकाे उल्लेख गरिएकाे छ ।
आयोगको नेतृत्व गरेका मनोचिकित्सक पेड्रो स्ट्रेचले आफूहरुले थाहा पाएको आँकडा ज्यादै कम रहेको भन्दै करिब २ लाख बालबालिका यौन शोषणको शिकार भएको बताएका छन् । उनले त्यसमा ३ हजार पादरीहरु संलग्न रहेको संकेत गरेका छन् । पेड्रोका अनुसार यौन शोषण गर्नेहरुमा ७७ प्रतिशत चर्चका पादरीहरु हुन् । उनीहरुले चर्च, क्याथोलिक स्कुल, पादरीका घर र धर्म कबुल गर्ने अखडा लगायतका स्थानमा बालबालिकाको यौन शोषण गरेका थिए ।
यौन शोषणको शिकार हुने बालबालिकाको उमेर १० देखि १४ वर्ष रहेको र त्यसमा पनि अधिकांश किशोरहरु रहेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएकाे सीएनएनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्