८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


आज डोलेश्वर मन्दिर भक्तजनका लागि खुल्ला


819
Shares

भक्तपुर । भक्तपुर सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर आज शनिबार भक्तजनहरुका लागि खुल्ला गरिएको छ ।

शनिबार महाशिवरात्री पर्व परेकाले बिहानैदेखि भक्तजनका लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

यो मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र खुल्ला गरिन्छ । अन्य दिन पुजारीहरुले पूजाआजा गरिदिने व्यवस्था रहेको छ ।

समितिको वार्षिक कार्यक्रम अनुसार आज भक्तजनहरु आफैं मन्दिरभित्र प्रवेश गरी पूजाअर्चना गर्न पाउने भएकाले पनि भक्तजनहरुको भीड लागेको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।

पर्वका समयमा हुने विभिन्न सुरक्षा अवस्थालाई ध्यान दिँदै प्रहरी तथा सवारी ब्यवस्थापनका लागि ट्राफिक प्रहरी परिचालन भएका छन् ।

महाशिवरात्रिका लागि भारत तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएका छन् । नागा बाबा, भंगी, जोगी र अघोरी बाबा लगायतका साधुसन्तले मन्दिरको क्षेत्र रोमाञ्चित बनेको छ । जोगी, सन्त, महन्थलाई भोलि दक्षिणा तथा कम्बल, धोती प्रदान गरी बिदाइ गरिने महासचिव बस्नेतले बताउनुभयो ।

आज केदारनाथको शिर डोलेश्वर मन्दिरमा रातको चार प्रहरमा चार प्रकारका पूजा पनि गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समयमा धार्मिक क्षेत्रका रूपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न उपत्यका लगायत आसपासका जिल्लाबाट समेत भक्तजनहरु बिहानैदेखि मन्दिरमा दर्शन गर्न आउने क्रम जारी रहेको छ ।