
काठमाडौं । आज फागुन ७ गते । ७३ औं प्रजातन्त्र दिवस । २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिन । आइतबार देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइदैछ ।
सशस्त्र संघर्षबाट १०४ वर्ष लामो राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा यो दिवस मनाउने गरिएको छ ।
प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई विसं १९९७ साल माघमा मृत्युदण्ड दिईएको थियो ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनमा राजसंस्थाले पनि साथ दिएपछि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गर्न सम्भव भएको थियो ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष औपचारिक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाउँदै आएको छ ।
यसैबीच, प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।
जनताको संघर्षको बलिदानबाट प्राप्त उपलब्धीर्लाइ सबैले संरक्षण गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । प्रजातन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह पनि आयोजना गरिँदैछ ।
प्रतिक्रिया दिनुहोस्