१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


आयोगले एकीकृत निर्वाचन कानूनको मस्यौदा पेश गर्दै


52
Shares

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समय अनुकूल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरेर पेश गर्ने भएको छ।

फागुन ७ गते आज (आइतबार) निर्वाचन आयोगले सातौं निर्वाचन दिवसको अवसरमा सोही मस्यौदा पेश गर्न लागेको हो । संचारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस वर्षको निर्वाचनको सञ्चालन र व्यवस्थापनका क्रममा आयोगले संविधान र कानूनको पालनासहित अवलम्बन गरेका नविन अभ्यासहरूको समीक्षाका क्रममा केही सकारात्मक पहल गर्न सकिएको अनुभव भएको बताउनुभयो ।

उहाँले गत निर्वाचनका क्रममा देखिएका समस्या र चुनौतीलाई समाधान गर्न मार्गदर्शन पनि प्राप्त भएको उल्लेख गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई आएका सुझावलाई समेटेर आगामी निर्वाचनको तयारी गर्ने र निर्वाचन कानून र व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा पनि दृढतापूर्वक अग्रसर हुने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले निर्वाचन पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र स्वतन्त्र बनाउन सहयोग गर्ने सबै पक्षलाई सोही अवसरमा धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

आयोगले आइतबार ‘निर्वाचनमा सबै सधैं सँगै’ भन्ने नारासहित सातौं निर्वाचन दिवस मनाउँदैछ ।