
काठमाडौं । विश्व बैंकले एक हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय आयोजनामा गर्ने लगानी एक वर्षभित्र जुटाउने भएको छ ।
माथिल्लो अरुणमा ५० करोड लगानी गर्ने प्रतिवद्धता जनाईसकेको विश्व बैंकले त्यस बाहेक थप ३० करोड डलर पनि सन् २०२३ भित्रै जुटाउने भएको हो ।
कम्पनीको डीडीए गरिरहेको विश्व बैंकले लगानी जुटाउनका लागि विभिन्न वित्तिय संस्थाहरुसंग छलफल गरिरहेको र लगानी जुटाउने प्रतिबद्धता जनाएको माथिल्लो अरुण जलविद्युत आयोजनाले जनाएको छ ।
यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको अगुवाइमा नेपालकै विभिन्न सात वटा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनएमबी बैंक, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र कृषि विकास बैंकले उक्त रकम लगानी गर्ने भएका हुन् ।
२ खर्ब १४ अर्ब कुल लगानी हुने अनुमान गरिएको आयोजनामा विश्व बैंक र युरोपियन डेभलेपमेन्ट बैंकको ९७ अर्ब, एचआइडीसीएलको अगुवाइमा ५३ अर्ब र ३२ अर्बको आइपीओसहित ६४ अर्बको स्वपूँजी रहने गरी लगानी बाँडफाँड गरिएको छ ।
संखुवासभामा निर्माण हुने आयोजना स्थल जाने २१ किलोमिटर सडक बनाउने काम अहिले चलिरहेको छ ।
सन् २०३० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजनाले हिउँद याममा ठूलो भार बहन गर्नसक्ने छ ।
प्रतिक्रिया दिनुहोस्