
एजेन्सी । अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन विरुद्ध युद्धमा रहेको रुसलाई घातक हतियारको सहयोग नगर्न चेतावनी दिनुभएको हो । अमेरिकाले आफ्नो आकाशमा उडिरहेका चिनियाँ जासुसी बेलुनहरु खसालेपछि दुई देशबीच आरोप प्रत्यारोप चलिरहेको बेला वाङ र ब्लिंकेनबीच भेटवार्ता भएको हो ।
आइतबार बिहान एनबीसी न्यूज टेलिभिजनले आयोजना गरेको कार्यक्रममा ब्लिंकेनले चीनले रुसलाई थुप्रै घातक हतियार दिने योजना बनाएको दावी गर्नुभयो । यदि चीनले त्यस्ताे काम गरेकाे खण्डमा अमेरिका–चीनबीचकाे सम्बन्धमा समस्या आउने सन्देश दिएको ब्लिंकेनले बताउनुभयाे ।
चीनले रुसलाई उपलब्ध गराउन लागेका हतियारहरुको विस्तृत विवरण अमेरिकाले छिट्टै बाहिर ल्याउने पनि उहाँले दावी गर्नुभयो । चीन र रुसबीच गत वर्ष सीमाहीन सम्बन्धको सम्झौता भएकाले पश्चिमा देशहरु कतै चीनको सहयोगमा रुस युक्रेनमाथि हावी हुने त होइन भन्ने त्रासमा रहेका छन् ।
चीनले भने पश्चिमा देशहरुलाई युद्ध अन्त्य गर्ने बाटो खोज्न आग्रह गर्ने जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्