
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध परेको उजुरीकाे बारेमा छानविन सुरु गरेको छ ।
भावी प्रहरी महानिरीक्षक (आईजीपी) को दौडमा रहनुभएका डीआईजी सिंहविरुद्ध नागरिकतामा उमेर सच्याएको र नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा प्रहरी सेवामा प्रवेश गरेको उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । त्यस्तै अख्तियारको उजुरीको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयले समेत आन्तरिक छानविन अघि बढाएको छ ।
हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहनुभएका डीआईजी सिंहले १८ वर्ष पूरा भएपछि नागरिकता प्राप्त गरेको देखिन्छ । उहाँले प्रहरी सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकतामा जारी मिति २२ जेठ, २०४२ रहेको उल्लेख गरिएकाे छ । तर १८ वर्षमा प्रहरी सेवा प्रवेश गरेको देखाउन त्यति बेला सिंहले आफ्नो जन्म मिति १६ पुस, २०२५ टिपाएको देखिएको छ ।
अख्तियारमा गत बुधबार परेको उजुरीमा सिंहले कलेज पढ्दै नपढी भारतको लखनउबाट आईएको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गरिएकाे छ । ३० वर्ष प्रहरी सेवामा रहँदा सिंहका विरुद्ध उजुरी परेको थिएन । तर बढुवाको मुखमा उजुरी परेको हो ।
प्रतिक्रिया दिनुहोस्