
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले विगत २ वर्षदेखि साउदीकाे जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने बताउनुभएकाे छ ।
कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीले मंगलबार बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेटेकाे हाे । भेटका क्रममा भएकाे कुराकानीमा प्रधानमन्त्री दाहालले कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएकाे हाे ।
भेटमा प्रधानमन्त्री दाहालले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गराउनुभएकाे बालुवाटार स्रोतले जनाएकाे छ । धनकुटाको चौबिसे गाउँपालिका–४ का कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदीको जेलमा रहेका छन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्म स्वाभिमान र उनीहरूले आर्जन गरेको पूँजी, सीप र प्रविधिलाई नेपालको हित अनुकूल परिचालन गर्न आफू प्रतिवद्ध रहेकाे प्रधानमन्त्री दाहालकाे भनाइ थियाे ।
प्रतिक्रिया दिनुहोस्