
काठमाडाैं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अंकले गिरावट आएको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशत भन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने, १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ ।
बिहीबार ४० भन्दा बढी लघुवित्त कम्पनीहरुको शेयर नकारात्मक सर्किट लागेको छ । नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.९५ अंकले, फ्लोट इण्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९२ अंकले घटेको छ ।
बिहीबार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता शेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । बुधबारको तुलनामा नेप्से घटेपनि कारोबार रकम भने बढेको छ ।
बिहीबार नेप्सेका १३ उपसमूह मध्ये लघुवित्त कम्पनीहरुको शेयर मूल्य उच्च दरले घटेको छ । लघुवित्त उपसमूहको परिसूचक ९.५४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशत भन्दा बढी घटेको छ ।
बिहीबार छिमेक लघुवित्त ८ करोड ७० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्