१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुबई जान पाउनुपर्ने मागसहित सन्दीप सर्वोच्चमा


17.628k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बिहीबार आफू दुबईमा हुन लागेको आईसीसी विश्वकप लिग–२ मा सहभागी हुन पाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन् ।

लामिछानेका कानून व्यवसायी अधिवक्ता सरोज घिमिरेले दुबईमा हुन लागेको खेल खेल्न जान पाउनुपर्ने मागसहित निवेदन दिएको जानकारी दिनुभएकाे हाे । नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

तर जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो । उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौं बाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने शर्त राखेको थियो । उच्चको विदेश जान नपाउने सर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् ।

उच्च अदालतको लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकार पक्षले निवेदन दायर गरेको छ । उच्चको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को विपरीत रहेको निवेदनमा उल्लेख छ । सरकार पक्षबाट परेको निवेदनमा लामिछानेलाई पुर्पक्षका लागि थुनामामै राख्नुपर्ने माग गरिएको छ ।

दुवै तर्फका निवेदनमा शुक्रबारलाई पेशी तोकिएको छ ।