११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धनमा सचेत छु : वरिष्ठ नेता पौडेल


312
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण र राष्ट्रियताको संवर्द्धन गर्ने अभिभाराका लागि आफू सचेत रहेको बताउनुभएको छ ।

शनिबार नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधानको संरक्षण, राष्ट्रियताको संवर्द्धन र जनताको उन्नतिको रेखदेख गर्ने अभिभारा आफूलाई आउन लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा जुन अभुतपूर्व अधिकार, अद्वितिय अधिकार सबै जनतालाई प्रदान गरेको छ । त्यसको रक्षा गर्ने चुनौति आएको छ । नेपालको संविधानको संरक्षण, नेपालको राष्ट्रियताको संवुरद्धन, नेपाली जनताको उन्नतिको रेखदेख गर्ने जुन अभिभारा, जिम्मेवारी मलाई आउन लागिरहेको छ । यसप्रति म सचेत छु । र म सबै नेपाली दाजुभाई, दिदीबहिनीलाई आग्रह गर्न चाहन्छु, हामी सबै मिलेर यो राष्ट्रको जगेर्ना गरौं ।’

उहाँले आफ्नो जिम्मेवारीप्रति सचेत रहेको पनि बताउनु भयो । उहाँले सबै मिलेर राष्ट्र र संविधानको रक्षा गर्नुपर्ने र वर्तमान राजनीतिक प्रणालीको महत्व सबैले बुझ्नुपर्ने बताउनुभयो ।

वर्तमान राजनीतिक प्रणालीमाथि खेलवाड गर्ने प्रयासहरु भइरहेको भन्दै उहाँले त्यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताउनुभयो ।

उहाँले आफूप्रति नेपालको राजनीतिक जगतले अपार स्नेह, सहानुभुति र सद्भाव राखेको अनुभुति आफूले गरेको बताउनुभयो ।