२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै


156
Shares

काठमाडौं । संघीय संसद अन्तर्गतका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) काे बैठक साेमबार बस्ने भएकाे छ ।

बैठक सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भएकाे हाे । राष्ट्रिय सभाको साेबारको बैठक मध्यान्ह १२ः३१ बजे सुरु हुने भएकाे छ । राष्ट्रिय सभाको साेमबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने कार्यसूची रहेकाे छ ।

त्यस्तै, राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने, विधायन व्यवस्थापन समितिका सभापति डा. वेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेश गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा पार्वतीले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन, २०७९ सभा समक्ष पेश गर्ने कार्यसूची रहेकाे छ ।

दलित समुदायका विभेद, उत्पीडनहरुको अन्त्य गरी सामाजिक साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि, सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धमा भुवनबहादुर सुनार प्रस्तावक र सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लवार, सिंहबहादुर विश्वकर्मा, जगतबहादुर पार्की, राधेश्याम पासवान, जगप्रसाद शर्मा, प्रमिलाकुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, बिमला घिमिरे, मायाप्रसाद शर्मा र गंगाकुमारी बेलवासे समर्थक भएर दर्ता भएको संकल्प प्रस्तावका सम्बन्धमा छलफल हुने भएकाे छ ।

त्यस्तै, प्रतिनिधि सभाको साेमबार बस्ने बैठकमा जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहकाे छ । बैठक साेमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । साेमबारको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाका समानुपातिकतर्फबाट सांसद बन्नुभएकी जनता समाजवादी पार्टी, नेपालकी सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पेश गर्न लागिएको हो । नेपालमा बञ्चितीकरणमा परेका समुदायको सशक्तिकरणमा नेतृत्वदायी भूमिका निभाउनुभएकी रहमानको यहि फागुन १३ गते हृदयघातका कारण निधन भएको थियो ।

भक्तपुरको घ्याम्पे डाँडामा पिकनिक मनाउन गएका बेला हृदयघात भएपछि जिल्ला अस्पताल भक्तपुरमा उपचारको क्रममा उहाँको निधन भएको थियो ।