११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


किशोर कुमारको बायोपिकमा देखिँदै रणवीर


377
Shares

एजेन्सी । भारतीय अभिनेता रणवीर कपुर अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ को सफलतापछि अब किशोर कुमारको बायोपिकमा काम गर्ने तयारीमा छन् ।

लभ रञ्जन निर्देशित ‘तू झुठी मैं मक्कार’ फिल्मको प्रमोशनका लागि रणवीर हालै कोलकाता पुगेका थिए, जहाँ उनले दिग्गज क्रिकेटर सौरभ गांगुलीको बायोपिकमा काम गर्ने खबरलाई झुट भएको बताएका छन् । उनले आफूलाई गांगुलीको बायोपिकका लागि अफर नआएको बताएका छन् ।

एक कार्यक्रममा जब रणवीरलाई क्रिकेटर सौरभ गांगुलीको बायोपिकको बारेमा प्रश्न सोधिएको थियो, उनले भने, “मलाई लाग्छ दादा (सौरभ गांगुली) भारतमा मात्रै नभई विश्वभरका जीवित लेजेन्ड हुनुहुन्छ, उहाँको बायोपिक निकै विशेष हुनेछ । मलाई यो फिल्मको अफर आएको छैन । मलाई लाग्छ यस फिल्मका निर्माताहरूले अझै स्क्रिप्ट लेखिरहेका छन् ।’

यससँगै रणवीरले आफ्नो आगामी बायोपिक फिल्मको संकेत पनि दिएका छन् । उनले चर्चित गायक, निर्देशक, अभिनेता किशोर कुमारको बायोपिक काम गर्न लागेको खुलासा समेत गरेका छन् ।

रणवीरले किशोरकाे बायोपिकबारे पुष्टि गर्दै भने, ‘म किशोर कुमारको बायोपिकमा विगत ११ वर्षदेखि काम गर्ने तयारी गरिरहेको छु । अनुराग बसुले फिल्म लेखिरहेका छन् र मलाई आशा छ कि यो मेरो अर्को बायोपिक हुनेछ ।’

रणवीर अहिले फिल्म ‘तू झुठी मै मक्कार’ रिलिजको तयारीमा छन् । फिल्ममा रणवीर अलवा श्रद्धा कपुर, डिम्पल कपाडिया, बोनी कपुर, अनुभव सिंह बस्सी र राजेश जैसको अभिनय रहेको छ । फिल्म मार्च ८, २०२३ मा रिलिज हुनेछ ।