
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बढी भएको बिजुली भारतलाई बेचे बापत गत साउनदेखि पुससम्म ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार गत साउनदेखि पुससम्ममा बढी भएको बिजुली भारतीय ऊर्जा विनिमयमा बिक्री गरिएको हो ।
प्राधिकरणले साउनमा करिब १ अर्ब ४ करोड रुपैयाँको बिजुली बेचेको थियो । भदौमा करिब १ अर्ब ९८ करोड, असोजमा सबैभन्दा धेरै करिब २ अर्ब २५ करोड, कात्तिकमा करिब १ अर्ब ५२ करोड र मंसिरमा करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । यस्तै पुसमा करिब २१ करोड रुपैयाँको विद्युत् बिक्री भएको छ ।
सात महिनामा १० लाख ७८ हजार ८४८ गिगावाट घण्टा बिजुली भारत निर्यात भएको छ ।
प्राधिकरणले देशभित्रको मागअनुसार आफ्नो उत्पादन हुन छाडेपछि पुस पहिलो सातादेखि विद्युत् निर्यात बन्द गरेको छ । प्राधिकरणले गत ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्दै आएको छ । प्राधिकरणले पहिलो पटक दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो ।
गत जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो । गत कात्तिकमा थप दुई जलविद्युत् आयोजनाको निर्यातको स्वीकृति पाएको छ । यससँगै प्राधिकरणले हाल १० आयोजनाको गरी कुल ४५२ मेगावाट बिजुली भारतमा बिक्रीको लागि अनुमति पाएको छ ।
त्यसैगरी, सुक्खायाम लम्बिएर आयात बढाउनु परेपछि चालु आर्थिक वर्षको हालसम्ममा बिजुली आयात गर्दा ५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले साउनदेखि फागुन १५ सम्ममा ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको छ । प्राधिकरणका अनुसार सुक्खायाम सुरु भएसँगै नदीमा पानीको बहाव घट्नाले उत्पादनमा कमी हुँदा भारतबाट आयात गर्नु परेको छ । हाल प्राधिकरणले दैनिक करिब ४ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ ।
साउनमा करिब १ करोड, भदौमा करिब २ करोड र असोजमा करिब २ करोड रुपैयाँ बराबरको बिजुली आयात गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्