१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


यात्रुबाट बढी भाडा असुल्ने ५ जना पक्राउ


546
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुसँग बढी भाडा लिने ५ जनालाई बल्खुबाट नियन्त्रणमा लिएको छ ।

सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले शनिबार बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएभन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरमा काम गर्ने काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका–८ का २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर–४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन रहेका छन् ।

चाडपर्व (होली) को अवसर पारेर काठमाडौंबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउण्टरबाट निर्धारित भन्दा बढी भाडा लिने गरेको गुनासो आएपश्चात ट्राफिकले सादा पोशाकमा समेत जनशक्ति परिचालित हुँदै आएको छ ।

निर्धारण गरिएको भन्दाबढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको छ ।