
काठमाडौं । कैलालीमा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ को खैरानाकी ६५ वर्षीया बाटुबट्टे आलेमगर रहेकी छिन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट शैपाल स्कूलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिँदा आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
आलेमगरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
ठक्कर दिने बस र चालक धनगढी उपमहानगरपालिका १३ बस्ने ३५ वर्षीय खुसीराम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
यसैबीच, घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्गमा अवरोध गरेका हुन् । राजमार्ग अवरोधका कारण सवारीसाधन चल्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्