
एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणका मुख्य अभियुक्त शिजन मोहम्मद खानले जमानत पाएका छन् ।
भारतीय सञ्चार माध्यामका अनुसार शिजनलाई लिन उनकी आमा र दुई जना बहिनी फलक नाज र शफाक नाज वसई अदालत पुगेका थिए । झण्डै ७० दिन जेल बसेपछि शिजनले मार्च ४ मा वसई अदालतबाट जमानत पाएका हुन् ।
तुनिषाले २४ डिसेम्बरमा सुटिङ सेटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनले आत्महत्या गरेको केही घण्टापछि उनकी आमाले छोरीको प्रेमि शिजनविरुद्ध उजुरी दिएकी थिइन्। शिजनलाई प्रहरीले २५ डिसेम्बर २०२२ मा पक्राउ गरेको थियो । तुनिषालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा शिजनमाथि मुद्दा चलाइएको थियो । पक्राउ परेपछि शिजनले पटक-पटक धरौटीका लागि निवेदन दिएका थिए ।
जनवरी १३ मा भएको मुद्दाकाे सुनुवाईमा वसई अदालतले शिजनको जमानतको निवेदन खारेज गरेको थियो । त्यसपछि शिजनले उच्च अदालतमा धरौटी माग गरेका थिए । त्यहाँबाट पनि शिजनले राहत पाउन सकेका थिएनन् । तर, उनले अहिले भने जमानत पाएका छन् ।
करिब ४ महिनादेखि शिजन र तुनिषा प्रेम सम्बन्धमा थिए । तुनिषाले आत्महत्या गर्नु भन्दा १५ दिनअघि दुवैको ब्रेकअप भएको थियो । पक्राउपछि सोधपुछका क्रममा शिजनले उमेर र धर्मका कारण तुनिषासँग ब्रेकअप भएको समेत स्वीकार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्