
काठमाडौं । १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड मंगलबार प्रदान गरिँदैछ ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको कार्यक्रममा खेलकुद क्षेत्रका विभिन्न नौ वटा विधामा पुरस्कार प्रदान गरिन लागेको हो । जसमा पिपल्स च्वाइस, उत्कृष्ट पुरुष वर्ष खेलाडी, उत्कृष्ट महिला वर्ष खेलाडी, उत्कृष्ट युवा खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।
मञ्चले वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । जस अनुसार उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, फुटबलका अञ्जन विष्ट, किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् ।
यस्तै, महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी सिता राना मगर, रुबिना क्षेत्री, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेका छन् । युवा खेलाडीतर्फ फुटबलका मनिष डाँगी, प्रिती राई, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा परेका छन् ।
प्रशिक्षक अवार्डको मनोनयनमा फुटबलका अब्दुल्लाह अल्मुताईरी, क्रिकेटका डेभ वाट्मोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन् । त्यसैगरी पिपल्स च्वाइस विधामा अन्जन विष्ट, आसिफ शेख, उषा भण्डारी, अभिलाषा विष्ट र डुवाना लामा परेका छन् ।
यसैगरी, अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रमकै गरिनेछ ।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ । यसपटक वर्ष युवा खेलाडीलाई पनि मोटर साइकल प्रदान गर्ने मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न उपहार प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्