२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रपति निर्वाचनमा राप्रपा र रास्वपाले अब के गर्लान् ? आचारसंहिताले पक्षधरतालाई रोक्ने


2.756k
Shares

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सोमबार रातिदेखि आचारसंहिता लागू भएको छ । सोमबार रातिदेखि आचारसंहिता लागू भएपछि अब कसैले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ कसलाई भोट हाल्ने भनेर उनीहरुले अब औपचारिक निर्णय सार्वजनिक गर्न नपाउने सूचना अधिकारी तथा आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले इमेज खबरलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीगतरुपमा आन्तरिक बैठक हुनु, छलफल हुनु छुट्टै कुरा हो । तर सार्वजनिक रूपमा कसैको पक्षधरता देखाएर सूचना प्रवाह गर्न पाइदैन् ।’

आचारसंहिता अनुसार उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट मत माग्न पाइँदैन । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरण पालना गर्न/गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका केही साना पार्टीले अहिलेसम्म कसलाई मत दिने भनेर कित्ता क्लियर गरेको अवस्था छैन् ।

राप्रपाले राष्ट्रपति निर्वाचनकाे बारेमा निर्णय लिन बुधबार दिउँसो १ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । रास्वपाले भने बिहीबार बिहान बैठक बोलाएको छ ।

राष्ट्रपतिका उम्मेदवार कांग्रेस वरिष्ठ नेता पौडेलको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी गरी १० दल उभिएको अवस्था छ ।

यता नेम्वाङको पक्षमा एमाले बाहेकका अरु दलले खुलेर समर्थन गरेका छैन् । राष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेबाट आचार संहिता लागू भएको थियो । मौन अवधि सोमबारबाट सुरु भएको हो ।