३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


घोराही–तुल्सीपुर चार लेन सडकको ठेक्का रद्द गर्ने प्रक्रिया सुरू

'चार पटक म्याद थप्दा पनि दश प्रतिशत मात्रै काम'

364
Shares

काठमाडौं । दाङको घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का रद्द प्रक्रिया अघि बढेको छ ।

चार लेन परियोजना कार्यालय लमहीले सूचना प्रकाशित गरी ठेक्का रद्द गर्नका लागि १४ दिने सूचना जारी गरेको हो ।

ठेक्का रद्द गर्नु नपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न भनिएको छ ।

परियोजना प्रमुख अनिश थापा मगरले तोकिएको समयमा नआए ठेक्का रद्द हुने जानकारी दिनुभयो ।

चार लेन सडक निर्माणको अवधि चौथो पटक म्याद थप्दा पनि निर्माण पूरा नभएपछि ठेक्का नै रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो ।

भारतीय तथ्य इन्जिनियरिङ एन्ड इन्फ्राले ठेक्का लिएर नेपाली कम्पनीहरुलाई पेटी ठेक्का दिएको थियो ।

पाँच वर्षमा १० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । सडक निर्माणको काम अलपत्र हुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।