२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, मत परिणाम आजै साँझसम्म


273
Shares

काठमाडौं । तेस्रो राष्ट्रपति चयनका लागि बिहीबार निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरेको छ ।

राष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले मतदान गर्ने छन् । उनीहरुलाई छुट्टा छुट्टै स्थानमा मतदानको ब्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको हलमा मतगणना सुरू गर्ने र बिहीबार नै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने मूख्य निर्वाचन अधिकृत महेश शर्माले बताउनुभएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुलाई रातो र प्रदेश सभाका सांसदहरुलाई हरियो रंगको मतपत्र बनाइएको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ ।

संघीय सांसदहरुको मतभार ७९ र प्रदेश सांसदको ४८ रहेको छ । सबै सांसदहरुको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ । त्यस मध्ये बहुमत अर्थात २६ हजार ३९४ मत ल्याउने उम्मेदवार निर्वाचित हुने छन् ।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

नेपालमा संघीय गणतन्त्र स्थापना भएपछि २०६५ साल साउन ८ गते डा. रामवरण यादव पहिलो राष्ट्रपति चुनिनु भएको थियो भने २०७२ कात्तिक ११ गते विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बन्नुभएको थियो ।

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।