१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


भोट हालेर फर्किँदै गर्दा सांसद न्यौपाने घाइते


3.146k
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनमा संघीय संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा सांसद गोविन्द न्यौपाने लडेर घाइते हुनुभएको छ ।

मधेस प्रदेशका सांसद न्यौपाने भोट हालेर फर्कँदै गर्दा गेटबाट बाहिरिने क्रममा सिँढीमा लड्नुभएको हो । टाउकोमा चोट लागेपछि सांसद न्यौपानेलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ ।

७१ वर्षका न्यौपाने मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य पनि हुनुहन्छ । सांसद न्यौपाने सप्तरी ४ को प्रदेश सभा १ बाट नेकपा (एकीकृत समाजवादी) बाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । सांसद न्यौपाने एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुनुहुन्छ ।

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार मतदान जारी छ । राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेको सुवास नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।