१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फरक समुदायको महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन माओवादीको सुझाव


2.418k
Shares

काठमाडौं । माओवादी धारका पार्टीहरुले फरक समुदायका महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन सुझाव दिएको छ ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले यस्तो सुझाव दिएको हो ।

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभयो । उहाँले नेपालको अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुने बताउनु भयो ।

उहाँले आफ्नो पार्टीले फरक समुदायको महिलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन गठबन्धनका घटकहरुले पहल गर्नुपर्ने अभिव्यक्ति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उपराष्ट्रपतिमा जसले सिफारिस गरेको भएपनि संविधानतः राष्ट्रपति र उपराष्ट्रपतिको बीचमा लैंगिक रुपले फरक र सामुदायिक फरक भन्ने छ । अभ्यास हामीले के बसाल्ने प्रक्रियाको सुरू गरियो भने एउटा पुरुष भए अर्को महिला हुनुपर्छ भन्ने मान्यता बसिसकेको छ । नेपालको अहिलेको अवस्था स्थिति सबैतिरबाट हेर्दा फरक समुदायको महिला नै भए बेस हुन्थ्यो । हामीले परामर्श दिनुपर्दा लैंगिक रुपले फरक हुनुपर्छ । महिला दिँदा राम्रो हुन्छ ।’

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित हुनु भएको छ । यसकारण उपराष्ट्रपतिमा अब महिला र फरक समुदायको व्यक्तिलाई अगाडि बढाउन माओवादी धारका पार्टीहरुले सुझाव दिएका हुन् ।

महासचिव गुरुङले उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै निर्वाचन आचारसंहिता सकिने भएकाले ५ गतेपछि मात्रै सरकार बिस्तार हुने बताउनुभयो ।

बैठकमा तत्कालि माओवादी पार्टीबाट फुटेका विभिन्न आठ वटा घटकका नेताहरु सहभागी थिए ।