१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने नवनिर्वाचित राष्ट्रपति पौडेलको भनाइ


260
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताउनुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि विपी संग्रहालय सुन्दरीजल पुग्नुभएका राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले समावेशी लोकतान्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाउनु भयो ।

राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उहाँले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन गर्नुभएको थियो ।

पौडेल बिहीवार भएको राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।