
काठमाडौं । वीरगञ्जका उद्योगीहरुले पर्सा–बारा क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन् ।
केही दिनदेखि पर्सा–बारा औद्योगिक क्षेत्रमा अनियमित विद्युत कटौतीको समस्या देखिएपछि उनीहरुले नियमित विद्युत आपूर्तिको माग गरेका हुन् ।
उद्योगहरुमा विद्युत ट्रिपिङ हुने, अघोषित रुपमा घण्टौं विद्युत नआउने समस्या देखिएको उनीहरुको भनाइ छ । विद्युत नियमित नहुँदा उद्योग प्रतिष्ठानहरु पूर्ण क्षमतामा सञ्चालन हुन नपाएको, औद्योगिक कच्चा पदार्थ नोक्सान भइरहेको, उत्पादनको गुणस्तरमा ह्रास आइरहेको उनीहरुको गुनासो छ ।
विद्युत प्राधिकरणले माग अनुसार विद्युत आपूर्ति गर्न नसक्ने भएमा निश्चित क्षेत्रमा लोडसेडिङ गरी अन्य क्षेत्रमा गुणस्तरीय विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाउन पनि वीरगञ्ज उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।
संघले गुणस्तरीय विद्युत आपूर्तिको अभावमा उद्योगको उत्पादन घट्ने, मेसिनरी पार्टपूर्जामा टुटफुट हुने लगायतका समस्याहरु झेल्दै आएको छ । संघका अध्यक्ष सुवोध गुप्ताले विद्युत प्राधिकरणलाई पटक पटक जानकारी गराउँदासमेत सुनुवाई नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्