
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके राउत) ले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताउनुभएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी गर्दा बैठक निष्कर्षबिहीन भएको र आफ्नो पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने बताउनुभएको हो ।
अध्यक्ष राउतले उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज १० दलको बैठक थियो । उपराष्ट्रपतिको उम्मेदवारको बारेमा छलफल भयो । उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको छ । हामीले पनि महिला नै सकेसम्म उठाउनुपर्ने, त्यसमा रिस्क नलिने भन्नेकुरा भयो । किनभने त्यसमा निर्वाचन आयोगले जुन निर्णय गरेको छ । त्यसमा संविधानको धारा ३८ कोर्ट गरिएको छ । त्यो आधारमा जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्नेछ । आज जसपाले पनि सम्भवतः दर्ता गर्नेछ । भोलिसम्ममा निस्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुने देखिन्छ । गठबन्धनबाट ३ जना उम्मेदवार हुने सम्भावना देखिएको छ । जसपाबाट २ जना उम्मेदवार बनाउने अवस्था देखिएको छ ।’
अध्यक्ष राउतले गठबन्धनबाट आज तीन जनाको उम्मेदवारी पर्ने अवस्था देखिएपनि आइतबारसम्म सर्वसम्मतिले एक जना मात्रै उम्मेदवारी हुने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्