
काठमाडाैं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको अस्वाभाविक गठबन्धनबाट नेकपा माओवादी केन्द्र मुक्त भएको बताउनुभएकाे छ ।
बिहीबार बिहान कांग्रेस ललितपुर नगर समितिले मंगलबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता निधिले बाहिर जतिसुकै आलोचना भए पनि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर परिपक्व निर्णय गरेको बताउनुभयाे ।
गत मंसिर ४ गते सम्पन्न भएकाे प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचनपछि गठबन्धनकारी दलबीचको असहमतिका कारण कांग्रेसजनमा निराशा छाएको भएपनि विश्वासको मत दिएपछि कोर्ष करेक्सन भएको उहाँको भनाइ थियो । गठबन्धनकारी दलहरूबीच राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलको नाममा सर्वसम्मत भएको उल्लेख गर्दै नेता निधिले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु हुने बताउनुभयाे ।
सरकारले विश्वासको मत पाएपछि कांग्रेस सरकारमा जाने समेत उहाँले बताउनुभयाे । सत्ता गठबन्धनका दलहरूबीच भएको सहमति अनुसार सरकार पाँच वर्षसम्म कायम रहने उहाँकाे तर्क छ ।
प्रतिक्रिया दिनुहोस्