
एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपा लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग टाइब्रेकरमा ५–३ ले पराजित हुँदै आर्सनल प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
बिहीबार राति भएको दोस्रो लेगमा १–१ को बराबरी तथा समग्रमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा स्पोर्टिङले बाजी मारेको हो । पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।
दोस्रो लेगको खेलमा अग्रता आर्सनलले १९ औं मिनेटमा ग्रानिट झाकाको गोलमा लिएको थियो । तर, ६२ औं मिनेटमा पोर्चुगलका परेसा गोन्साल्वेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समयमा बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । ११८औं मिनेटमा म्यानुएल युगार्टे दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्पोर्टिङ १० खेलाडीमा समेटिन पुग्यो ।
टाइब्रेकरमा स्पोर्टिङका जेरी सेन्ट जस्ट, रिकार्डो स्काइओ, गोन्कालो इनासियो, आर्थर र नुनो सान्तोषले गोल गरे । यता, आर्सनलका मार्टिन ओडेगार्ड, बुकायो साका र लियान्द्रो ट्रोससार्डले गोल गरे भने गाब्रिएल मार्टिनेलीले गोल गर्न सकेनन् ।
प्रतिक्रिया दिनुहोस्