
काठमाडौं । भीडभाड, भागदौड अनि व्यस्त जिन्दगी, यो काठमाडौंको दिनचर्याको छोटो परिभाषा हो । आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीबासीका लागि दुर्लभ छ ।
जहिल्यै र जताततै कामै कामको चाप । त्यसैले होला एक शहरियाले अर्कोलाई चिन्दैन र वास्ता गर्दैन । तर, यही व्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ ।
साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधुली साँझको भरपुर मज्जा टाढा गइरहनु पर्दैन । भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै र रमाउँदै गल्लीहरूमा हसिलो अनुहार देखिने बेला, मठमन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझको मज्जा भरपुर लिन सकिन्छ । यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ ।
जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छन् । नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ, सडक छेउका बस्तीबाहेक ।
हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन देखिन्छन् । दिउँसोको उज्यालो त सबैले हेर्छन् तर, साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ ।









प्रतिक्रिया दिनुहोस्