८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पानी सुरक्षा र जलवायु परिर्वतनकाे असरकाे बारेमा राष्ट्रिय सम्मेलन सुरू


117
Shares

काठमाडौं । पानी सुरक्षण र जलवायु परिर्वतनका असरहरुको सम्बोधनको विषयमा दुई दिने राष्ट्रिय सम्मेलन आइतबारबाट काठमाडौंमा सुरु भएको छ ।

विश्व पानी दिवसको अवसर पारेर खानेपानी मन्त्रालयसँगको समन्वयमा स्मार्ट वास सोलुसन्स र वाटर एड नेपालले अन्य विभिन्न निकायको सहयोगमा दुई दिवसीय राष्ट्रिय सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा विभिन्न विषयका विज्ञहरुले १६ वटा कार्यपत्रहरु समेत प्रस्तुत गर्ने छन् ।

उक्त सम्मेलनमा नेपाललाई पानीको संकट र पानीबाट उत्पन्न संकटलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गरी तिनलाई कार्यान्वयनमा ल्याउने उपायहरुकोबारे छलफल हुनेछ । त्यस्तै सम्मेलनले वर्षातको पानी सङ्कलनार्थ प्राप्त अवसरलाई दिगो विकासको लक्ष्य प्राप्ति, आमजनतामा पानीको चेतनाको महत्व जोगाउनु,जलवायु परिवर्तनको असर न्यूनीकरण तथा जलउत्पन्न प्रकोप न्यूनीकरणका सन्दर्भमा सम्बोधन गर्ने आयोजकको भनाई छ

सम्मेलनलाई सम्बाेधन गर्दै पूर्वमन्त्री गणेश शाहले प्राकृतिक रुपमा मनसुनबाट प्राप्त पानीको समुचित व्यवस्थापन गर्न सके नेपालमा पानीका स्रोतहरु संरक्षित र सुरक्षित हुने बताउनुभयाे । साथै जमिन हराभरा रहने, बसाईसराई गर्न नपर्ने, कृषि उत्पादन बढ्ने, सिंचाई, जलविद्युत र औद्योगिकरणको लागि पर्याप्त पानी उपलब्ध हुने उहाँकाे तर्क छ ।

जलवायु परिर्वतनले तापक्रम बढ्दै गएको र विभिन्न किसिमका रोगले खेतीपाती र पशुपंक्षीमा प्रत्यक्ष असर पारिरहेको उहाँकाे भनाइ थियाे । सम्मेलन साेमबारसम्म संचालन हुनेछ ।