१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल भारतबीच यो वर्ष युनिटको ११ रुपैयाँ ५४ पैसामा विद्युत खरिद विक्री गर्ने सहमति


741
Shares

काठमाडौं । नेपाल भारतबीच यो वर्ष युनिटको ११ रुपैयाँ ५४ पैसामा विजुली खरिद बिक्री गरिने भएको छ ।

भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत विद्युत आदानप्रदान समिति (पीईसी) बैठकले सन् २०२३ भरि युनिटको ७ रुपैयाँ २१ पैसा भारतीय रुपैयाँमा विजुली खरिद विक्री गर्ने सहमति गरेको हो ।

वर्षभरि यही मूल्य कायम हुँदा नेपाललाई लाभ मिल्ने विद्युत प्राधिरकणको दावी छ । यो निर्णयले नेपाललाई करिब ५० करोड फाइदा हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दावी गर्नुभएको छ । बैठकले यो वर्षका लागि १ सय ३२ केभी प्रसारण लाइनमार्फत हुने बिजुली आदानप्रदानको भाउ तोकेको हो ।

बैठकले बिहारको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यमा नेपालले गर्ने विद्युत निर्यातको ढाँचा एक महिनाभित्र तय गर्ने निर्णय पनि गरेको जनाइएको छ । दुवै पक्षले ढाँचाको टुंगो लगाएसँगै वर्षायाममा देशभित्र खपत गरी बढी भएको बिजुली बिक्रीका लागि थप बजार सुनिश्चित भएको घिसिङले उल्लेख गर्नुभएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र भारतको केन्द्रीय विद्युत् प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षतामा बैठक बसेको हो ।

नेपालले चाहेका बेलामा बिजुली लिने गरी नयाँ दर तोकिएको र यो भारततर्फ निर्यात गर्दा पनि लागू हुने बताइएको छ । आर्थिक वर्ष २०१९÷२० देखि पुनरावलोकन हुन सकेको थिएन । त्यसयता भारतबाट आयात गर्दा वार्षिक साढे पाँच प्रतिशतको मूल्यवृद्धि जोडेर प्राधिकरणले बिजुली आयात गर्ने गरिएको थियो । यतिखेर विगतमा गरिएको बिलिङलाई पनि समायोजन गर्दै जाने सहमति भएकाले यसबाट प्राधिकरणलाई करिब ४९ करोड ६० लाख रुपैयाँ फाइदा भएको घिसिङले उल्लेख गर्नुभएको छ ।

टेक अर पे नभई चाहिएका बेला मात्र बिजुली आयात गरिने सहमति भएकाले यो मूल्य अहिलेको भारतीय बजारबाट लिइरहेको भन्दा सस्तो रहेको र यो दर नेपालले बिजुली निर्यात गर्दा पनि पाउने प्राधिकरणले जनाएको छ ।