२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


तनहुँ-१ र बारा-२ मा पनि १० वैशाखमै उपचुनाव गर्ने आयाेगकाे निर्णय


260
Shares

काठमाडौं । निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

यसअघि नै आयोगले चितवन २ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ । आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

१० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने गरी निर्वाचनको समयसमेत निर्धारण गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । गत फागुन २५ गते सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो । यस्तै,चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै बारा २ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

संविधानअनुसार प्रतिनिधिसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएमा पद रिक्त हुने र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । यस्तै, नागरिकता प्रकरणमा रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

आयोगका अनुसार दुवै क्षेत्रमा चितवनकै उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम लागू गरिनेछ । आयोगका अनुसार तनहुँ–१ र बारा–२ को उपचुनावका लागि चैत ८ देखि १२ गतेसम्म दल दर्ताको समय दिइनेछ ।

चैत १६ गते मतदाता नामावली प्रकाशन हुनेछ भने २० गते उम्मेदवारी दर्ता हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।