१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदर्शनी मिति तय गर्दै ‘गणपति’ को पोस्टर सार्वजनिक


754
Shares

काठमाडौं । आगामी जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’ को पोस्टर सार्वजनिक भएको छ ।

आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमुख कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान समावेश भएका हुन् । साेही चलचित्रमा गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडि राखिएको छ ।

यस चलचित्रमा निर्देशनसँगै लेखन पनि सबिन अधिकारीको नै रहेको छ । निर्देशक अधिकारीले यो चलचित्रले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताएका छन् । चलचित्रमा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु र सुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन् । चलचित्रमा अभिनेता भुषाल टाइटल क्यारेटरमा रहेका छन् । ‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाइ छ ।

योचलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो । एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ।

चलचित्रको गीतमा अनिश अधिकारीले शब्द तथा संगीत दिएका छन् । साथै अनिशसँगै देवेन्द्र बब्लुले आवाज दिएका छन् ।