१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा जलवायु परिवर्तनको असर धेरै देखियो


624
Shares

शंकर खनाल

काठमाडौं । पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर बढी देखिन थालेको छ ।

बेमौसमी वर्षा, प्राकृतिक प्रकोप जस्ता उदाहरण देखिदै गर्दा प्रकृतिलाई जोगाउन र यसको असर न्यूनिकरण गर्न विश्व समुदायले समेत नेपालमा ध्यान केन्द्रीत गर्न थालेका छन् ।

विश्वमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा विश्व समुदायले चिन्ता व्यक्त गरेको छ ।

आदिवासी, जनजाति, सामुदायिक वन र स्थानीय समुदायलाई जलवायु परिवर्तनबाट हुने प्रभाव, चुनौति, पूर्वतयारी, भूमिका र सिपबारे चेतना अभिबृद्धि गर्ने उद्देश्यले ग्लोबल डिजिएमको अन्तराष्ट्रिय कार्यान्वयन समिति र कर्न्जभेसन इन्टरनेशनल वासिङ्टन डिसीले गरेको कार्यक्रममा पछिल्लो समयमा जलवायु परिवर्तनको असर विश्वव्यापी रुपमा देखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

ग्लोबल डिजिएम मेक्सिकोका मेनियल अल्ड्रेटले पर्यावरण र जलवायु परिवर्तनको प्रभाव नेपालमा पनि पर्न थालेको भन्दै सामुहिक सहकार्यबाट चुनौतिको सामना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले पृथ्वीको तापमान बढ्नु चुनौतिको रुपमा रहेको भन्दै जलवायु परिवर्तनबाट निम्तिन सक्ने प्राकृतिक बिपत्तिबारे जनचेतना र पूर्वतयारी आवश्यक रहेकोमा जोड दिनुभयो ।

डिजिएम नेपाल कार्यान्वयन समितिका अध्यक्ष डा.अर्जुन कार्कीले जलवायु परिर्वतनको प्रभाव नेपाल जस्तो सानो देशमा बढी परेको भन्दै जलवायु परिर्वतन न्यूनिकरणकालागि आदिवासी, जनजाति, महिला र स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । उहाँले नेपाल जस्तो सानो देशले वातावरणमा उल्लेखनिय रुपमा असर नपारे पनि त्यसको प्रभावको दृष्टिकोणले भागिदार बढी हुनु परेको दुःखेसो गर्नुभयो ।

समुन्द्रको सतह बढ्दै जानु र हिमाल ढुंगामा परिणत हुदै जाँदा चुनौति थपिएको उहाँको भनाई थियो । विश्व समुदायबाट नेपालले धेरै सिक्ने अवसर प्राप्त गरेको भन्दै नेपालको सामुदायिक वनको राम्रो व्यवस्थापनबाट अन्तर्राष्ट्रिय जगतले पनि सिकी रहेको बताउनुभयो । आदिवासी जनजाति र स्थानीय समुदायका लागि समर्पित अनुदान कार्यक्रमका विज्ञ डा. सुरेश तामाङले जलवायु परिवर्तनकै कारण अहिले नेपालमा मौसम परिर्वतनको असर देखिएको भन्दै विश्व समुदायसँग हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

विश्व बैंकको सहयोगमा भएको कार्यक्रममा ब्राजिल, घाना, इण्डोनेसिया, पेरु, मेक्सिको, बुर्कीनाफासो, कोटे डि आवर, मोजाम्बिक, पोर्चुगिजलगायत देशका जलवायु विज्ञहरुको सहभागिता थियो । आदिवासी जनजाति महासंघ, सामुदायिक वनका प्रतिनिधि, तामाङ, गुरुङ, राई ,लिम्बु, सुनुवारलगायत १४ वटा भन्दा बढी जनजाति संघ संस्थाको सहभागिता रहेको कार्यक्रममा समुदायले आ–आफ्ना साँस्कृतिक नृत्य, परम्परा र साँस्कृतिक झाकी प्रस्तुत गरेका थिए ।

पाँच दिनसम्म चल्ने कार्यक्रममा महिला नेतृत्व, विकासबारे अवधारणा, क्षमता अभिवृद्धि र भूमिकाका बारेमा गहन छलफल हुने र नेपालको जलवायु न्यूनिकरण गर्न थपिदै गएका चुनौति चिर्न सम्मेलनले ठोस निर्णय लिने छ ।