१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धनबाट बारा– २ मा जसपाको दाबी


429
Shares

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर– २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले दाबी गरेको छ ।

पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर –२ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी रहने बताएको हो ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा निर्वाचन क्षेत्र नम्बर –२ मा सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गर्नुभयो । उहाँले बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने र त्यसमा आफ्नो पार्टीको हक लाग्ने बताउनु भयो । उहाँले बुधबारको बैठकले उपनिर्वाचनका लागि आयोगले निर्धारित गरेको समयभित्र नै निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

प्रवक्ता सुमनले बैठकले चैत्र २७,२८ र २९ गते तीन दिनको लागि काठमाडौंमा हुने विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको तीन जनाको कार्यदल बनाउने निर्णय गरेको पनि बताउनु भयो । जसपा अध्यक्ष उपेन्द्र यादवले बारा –२ मा निर्वाचन लड्ने आकाक्षा राख्नु भएको छ ।

त्यसका लागि रामसहायलाई उपराष्ट्रपति बनाएर बारा–२ खाली गराइएको हो । यादव गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग सप्तरी –२ बाट पराजित हुनुभएको थियो । जसका कारण यादवको यसपटक संसद यात्रा रोकिएको थियो । चितवन–२,बारा–२ र तनहुँ –१ मा आगामी बैशाख १० मा उपनिर्वाचन हुँदैछ ।