१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ


182
Shares


काठमाडौं । उप–प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताउनु भएको छ ।

एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन इफाप्का र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त रुपमा विहिवार राजधानीमा गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राख्नुभयो । उहाँले पर्याप्त लगानी बाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उल्लेख गर्नुभयो । ‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

निर्माणमैत्री ऐन कानून नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्वीकार गर्दै उहाँले समय सापेक्ष ऐन कानून बनाउन नेपाल निर्माण व्यवसायी महासंघ जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफू सबैसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

इफाप्का समेत अध्यक्ष रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभरी नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताउनुभयो । कमजोर वित्तिय अवस्था तथा प्रविधिका कारण नेपाल जस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठीन भएको अध्यक्ष सिंहले बताउनुभयो ।

इफाप्काका कार्यकारी निर्देशक लेभी भी.एसपीरीतुले पूर्वाधारको क्षेत्रमा आ—आफ्नो अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने बताउनुभयो । सम्मेलनमा विज्ञहरूबीच सार्वजनिक निजी साझेदारीको विविध आयाम, खरिद कानून, इपीसी कन्ट्रयाक्ट, दिगो पूर्वाधारका सम्भावना र चुनौती लगायतका विषयमा छलफल भएको थियो ।