
भक्तपुर । भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ हुने भएको छ ।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डको आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा चैत २३ देखि सुरू हुने गरी मेला आयोजना गर्न लागिएको हो ।
शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको प्रारम्भिक तयारीबारे जानकारी दिएको थियो ।
देशव्यापी आर्थिक संकट र मन्दीका बीच व्यावसायिक क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक दिपक थापाले जानकारी दिनुभयो ।
सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले सञ्चालित महोसत्वमा २०० भन्दा बढी स्टल रहने थापाले बताउनुभयो ।
बैशाख ३ गतेसम्म हुने महोत्सवमा पाँच लाख दर्शकले महोत्सव अवलोकन गर्ने र स्टलहरुबाट करिब १० देखि १२ करोड रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवमा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।
महोत्सव सम्पन्न गर्न करिब ४५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष महतले बताउनुभयो ।
दैनिक सांगीतिक प्रस्तुती, बाल उद्यानपनि आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ ।
महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धनसम्बन्धी गर्ने स्टल रहने छन् । यस्तै, अटोमोबाइल, अन्तर्राष्ट्रिय स्टल, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहनेछन् ।
प्रवेश शुल्क ७० रूपैयाँ, विद्यार्थीहरुका लागि ५० रूपैयाँ टिकट दर तोकिएको छ भने त्यस्तै ७० वर्ष उमेर माथि र अपाङ अशक्त व्यक्तिहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।
प्रतिक्रिया दिनुहोस्