
काठमाडौं । महोत्तरीबाट पैदल यात्रा गर्दै सोमबार काठमाडौं आएका मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता नगरी आन्दोलन स्थगित नगर्ने अडान लिएका छन् ।
सोमबार राति रत्नपार्कसँगैको सडकमै बसेर मंगलबार बिहान प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्न गएका पीडितहरुले गृह मन्त्रालयका अधिकारीहरुलाई आन्दोलन स्थगित नगर्ने बताएका हुन् ।
बालुवाटारतर्फ अघि बढेका पीडितहरुलाई प्रहरीले रोकेपछि उनीहरु टंगालको सडकमै धर्ना बसेका हुन् । गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भेट गरेर आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको हो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उनीहरुलाई भेटेर समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।
सरकारी निकायहरुलाई पटक पटक समस्या सुनाउँदा पनि पनि सुनुवाई नभएपछि उनीहरु ११ दिनको पैदल यात्रा गर्दै काठमाडौं आएका हुन । अब मिटरब्याजीहरुमाथि कारबाही र आफूहरुले न्याय नपाएसम्म घर नफर्कने अडानमा उनीहरु रहेका छन् ।
टङ्गालबाट उनीहरु भद्रकालीतर्फ लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्