
भक्तपुर । बागमती प्रदेश सांसद सुरेश श्रेष्ठले संघीय सरकारले मन्त्रीमण्डलको टुँगो लागेलगतै बागमती प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ ।
रफत सञ्चार क्लबमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले राजनीतिक समीकरण फेरबदलको स्थितिलाई दृष्टिगत गर्दैै नेपाली कांग्रेस पार्टीले राजनीतिक स्थिरताका लागि क्रियाशील भएको श्रेष्ठले बताउनुभयो ।
लामो समयदेखि संघीयताको कार्यान्वयनमा देखिएको जटिलताको अन्त्य गर्न संघले प्रदेशप्रति देखाइरहेको व्यवहारलाई परिवर्तन गर्न नसक्दा प्रदेशको नीति निर्माणमा समस्या देखिएको श्रेष्ठले बताउनुभयो ।
संघीय सरकारले अधिकार व्यवहारतः प्रत्यायोजन नगर्दा आधारभूत कामहरूसमेत प्रभावित भएको श्रेष्ठले बताउँदै प्रदेशले आफ्नो अधिकार उपयोग गर्न नपाउँदा जनमानसमा परेको नकारात्मक छापलाई निराकरण गर्न संघीयतालाई व्यवहारमा लागू गर्ने वातावरण सिर्जना गर्न संघीय सरकारलाई आग्रह गरे ।
बागमती प्रदेशका मुख्यमन्त्रीले हालै विश्वासको मत माग्दा कांग्रेसले खेलेको भूमिका नै राजनीतिक स्थिरताको बलियो सन्देश रहेको श्रेष्ठले उल्लेख गर्नुभयो ।
उहाँले प्रदेश सरकारले पूर्णता पाएसँगै प्रदेशको विकासको निर्माणको अभूतपूर्व लहर सिर्जना हुने बताउनुभयो । विकास निर्माणको लहरलाई निश्चित गति प्रदान गर्नका लागि आर्थिक बन्दोबस्तीमा कुनै सम्झौता नहुने पनि श्रेष्ठले दाबी गरे ।
विगतमा प्रदेशको विकासमा देखिएको सुस्तपना यसपटक नदोहोरियोस भन्नका लागि स्थानीय निकायलगायत सरोकार पक्षसँग राम्रो समन्वय र समझदारी कायम गर्ने प्रयास भइरहेको श्रेष्ठले चर्चा गरे ।
प्रतिक्रिया दिनुहोस्