१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिचान पक्षधरद्वारा धरानका दुई वडा कार्यालयमा तालाबन्दी


39
Shares

सुनसरी । पहिचान पक्षधर आन्दोलनकारीहरुले बिहीबार सुनसरीको धरान उपमहानगरपालिकाका दुई वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले धरान उपमहानगरपालिकाको ५ र १५ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । कोशी प्रदेश खारेजीको माग राखेर आन्दोलन गर्ने क्रममा प्रहरीसँगको झडपमा विराटनगरमा लिम्बुवान भोलन्टियर्स (एलभी) कमाण्डर पदम लिम्बु लाजेहाङको मृत्यु भए पश्चात पहिचान पक्षधरहरुले आन्दोलनलाई सशक्त पारेका छन् ।

बन्द, हड्ताल र कोशी प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दै आएका उनीहरुले प्रदेश भरी सरकारी कार्यालय संचालन गर्न नदिने चेतावनी दिएका छन् । जनता समाजवादी पार्टीका नेता सागर चेम्जोङले कोशी प्रदेश खारेजी, लाजेहाङलाई शहीद घोषणा र पीडित परिवारलाई उचित क्षति पूर्तिको व्यवस्था नगरुन्जेलसम्म आन्दोलन नरोकिने बताउनुभएकाे छ । उहाँले प्रदेश भरीका सबै कार्यालय बन्द गराउन कार्यकर्ताहरु परिचालन गरेको समेत बताउनुभयाे ।

संघीय लिम्बुवान पार्टी सुनसरीका अध्यक्ष अमर इजमले स्थानीय तहहरुमा कोशी प्रदेशको बोर्ड राखिएका कारण धरानमा दुई वटा वडा कार्यालयहरु बन्द गरिएको बताउनुभयाे । धरान-१५ का वडा अध्यक्ष नरेश इवारमले पहिचान पक्षधरका आन्दोलनकारीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका कारण कार्यालयको काम प्रभावित बनेको बताउनुभयाे । पहिचान पक्षधरका आन्दोलनकारीहरु नारा जुलुस लगाउँदै वडा कार्यालय बन्द गराउँदै हिडेका छन् ।

सरकारले आन्दोलनरत पक्षलाई वार्तामा नबोलाएका कारण आन्दोलनकारीहरुले आन्दोलनलाई सशक्त बनाउदै गएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे वडा कार्यालयमा लगाएको ताला खोल्न र शान्ति सुरक्षा मजबुद बनाउन धरान प्रहरीलाई निर्देशन दिएको बताउनुभयाे।