
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बैंकबाट सुन बिक्न छाडेको छ ।
सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाउन थालेपछि सुन व्यवसायीले बैंकको सुन किन्न छाडेका हुन् ।
उनीहरूले सुन किन्न छाडेपछि वाणिज्य बैंकहरूमा १ सय ८५ किलो सुन स्टक रहेको नेपाल बैंकर संघले जनाएको छ । फागुन मसान्तसम्म २ सय १३ किलो स्टक थियो । स्टक बढ्न थालेपछि वाणिज्य बैंकहरूले सुन आयात बन्द गरेको संघको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले कोटा प्रणालीबाट सुन आयातको व्यवस्था गरेको छ । उक्त व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले कोटाअनुसार आयात र बिक्री बितरण गर्न पाउँछन् । आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कोटा प्रणाली लागू गरेको हो ।
कोटा प्रणालीअनुसार प्रतिदिन १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । नेपालमा मुख्यतः दुबई, हङकङ, स्विट्जरल्यान्डबाट सुन आयात गरिन्छ । उक्त सुन व्यापारीहरूले गहना बनाएर मात्रै बेच्न पाउँछन् । तर सुनको मूल्यले कीर्तिमानी मूल्य बनाएपछि सुन बिक्री सुस्त भएको छ, जसले गर्दा बैंकको सुन पनि बिक्री नभएको हो ।
दैनिक कोटाअनुसार यसबीचमा उपत्यका र उपत्यकाबाहिर गरी २ सय किलोको कोटा मौज्दात रहेको संघले जनाएको छ । व्यवसायीलाई तत्काल सुन आवश्यक परे दैनिक कोटाका अतिरिक्त २ सय कोटा तत्काल ल्याउन सकिने जनाइएको छ ।
बजारमा बिक्री ठप्पप्रायः रहेकाले समस्या भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । महासंघका अनुसार गत माघ १९ मा प्रतितोला १ लाख ७ हजार रुपैयाँमा कारोबार भई उच्च रेकर्ड कायम गरेको सुनको मूल्य चैत ५ मा १ लाख १० हजार रुपैयाँमा कारोबार भएर कीर्तिमानी मूल्य बनेको थियो । त्यसपछि मूल्यमा अस्थिरता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्