१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रवि लामिछाने संविधानतः उम्मेदवारी दिन अयोग्य : संविधानविद्


12.753k
Shares

काठमाडौं । संविधानतः नागरिकता लिएको तीन महिना पूरा नभइ नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि व्यक्ति योग्य ठहरिँदैन ।

संविधानको पालना गर्ने हो भने तीन महिना पूरा गरेपछि मात्रै कानूनतः नियुक्ति, मनोनयन र निर्वाचनका लागि कोही पनि नागरिक योग्य ठहरिने परिकल्पना संविधानले गरेको छ । केही समयअघि यसै सम्बन्धी घटना चर्चित भयो र अहिलेसम्म पनि छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउँछन् की पाउँदैनन् ? संविधानतः भन्ने हो भने उनी आउँदो उपनिर्वाचनमा उम्मेदवार बन्न पाउनेछैनन् । तर, कानूनमा छिद्र निकालेर उम्मेदवार बनाइए कानूनको धज्जी उड्ने संविधानविद्हरुको भनाइ छ । त्यसैले पनि संविधानमा छिद्र बनाउनु नहुने उनीहरुको भनाइ छ ।

संविधानविद् खिमलाल देवकोटाले संविधानको धारा २९१ मा गैर आवासीय नेपाली नागरिकता अथवा कुनै देशको विदेशी नागरिकता परित्याग गरेको व्यक्तिले नियुक्ति, मनोनयन र निर्वाचन ३ वटा कामका निमित्त कम्तिमा तीन महिना व्यतित नभइकन योग्य नहुने व्यवस्था गरेको बताउनुभयो ।

रास्वपा सभापति लामिछानेले नागरिकता लिएको मितिले मनोनयन दर्ताको दिनसम्मको समय ६५ दिन मात्रै पुग्छ । उनलाई अझै उम्मेदवार बन्न योग्य ठहरिनका लागि २५ दिन अपुग हुन्छ । किनभने चैत्र २० गते उपनिर्वाचनका लागि मनोनयन दर्ताको समय निर्वाचन आयोगले तोकेको छ । उपनिर्वाचन आगामी वर्षको बैशाख १० गते हुँदै छ । जसमा रास्वपा सभापति लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्दै हुनुहुन्छ ।

निर्वाचनको दिनसम्मको हिसाव गर्ने हो भनेपनि बैशाख १० गतेसम्म उहाँले नागरिकता लिएको समय ८५ दिन मात्रै हुन्छ । सभापति लामिछानेले गत माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिनुभएको थियो । संविधान र संविधानविद्हरुका अनुसार तीन महिना समय नपुगेकाले उहाँले उम्मेदवारी दिन पाउने अधिकार हुँदैन । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले माघ १३ गते शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद गुमाएका थिए । नागरिकता पुनः प्राप्त गरेपछि पुनः उनी रास्वपा सभापतिमा कार्यरत छन् ।

संविधानविद् देवकोटाले संविधान, कानून र मर्यादाको छिद्र खोजेर अघि बढ्नेकुरा चिरस्थायी हुन नसक्ने बताउनुभयो । उहाँले कानूनले कोर्स लिने बेला यस्ता नजिरहरुमा प्रश्न उठ्ने बताउनुभयो ।