१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुकाे बुद्धभूमिमा ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम संचालन


1.014k
Shares

सुशील गैरे

कपिलवस्तु । कपिलवस्तुकाे बुद्धभूमि नगरपालिकाले ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रमको सुरुवात गरेको छ।

शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत शिक्षकलाई साेमबार ल्यापटप वितरण गरेकाे हाे । साेही कार्यक्रम अन्तर्गत ३९ जना शिक्षक मध्ये ३२ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको र बाँकीलाई पुन:वितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाबहादुर रावतले जानकारी दिनुभयो ।

५० प्रतिशत नगरको र ५० प्रतिशत स्वयं शिक्षकको लागतमा ल्यापटप वितरण गरिएको शिक्षा शाखा प्रमुख कृष्णप्रसाद भट्टराईले बताउनुभयो। सूचना प्रविधिको युगमा आफूहरू पनि सूचना प्रविधिसँगै परिवर्तन भएर विद्यार्थीलाई त्यही किसिमको शिक्षा दिक्षा दिन जरुरी रहेको शिक्षक रवि घिमिरेले बताउनुभयो ।

ल्यापटप वितरण गर्दै बुद्धभूमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले शिक्षा क्षेत्रको विकासले मात्र समाज सकारात्मक दिशातर्फ उन्मुख हुने भएकाले शिक्षालाई समय अनुकूल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। ‘शिक्षामा सबैको पहुँच’ भन्ने नारालाई पूरा गर्न नगर प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयाे ।

शिक्षामा सरकारले ठूलो लगानी गरेको पनि उहाँकाे भनाइ थियाे । त्यसकारण नगरपालिकाले पनि प्राथमिकताका साथ हेरेको उहाँले बताउनुभयाे । विगतका वर्षदेखि नै शिक्षामा गुणस्तरीयता कायम गर्न नगरपालिकाले यस्ता कार्यक्रम संचालन गर्दै आएको पनि उहाँले बताउनुभयाे ।

आगामी दिनमा पनि साेही कार्यक्रमलाई निरन्तरता दिदैं जाने नगर प्रमुख श्रेष्ठले प्रतिवद्धता समेत जनाउनुभयाे ।