
एजेन्सी । भारत सिक्किमको हिमाली क्षेत्र नाथुलामा हिउँ पहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो अचानक आएको हिउँ पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । हिमपहिरोमा परि नेपालका ३ जना, भारतको उत्तर प्रदेशका २ जना र पश्चिम बंगालका २ जनाको मृत्यु भएको हो ।
गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचीअनुसार मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रुपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहेका छन् । त्यसैगरी उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बंगालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिए रहेका छन् ।
पहिरोमा परी तीन जना नेपालीहरु घाइते भएको थाहा भएको सिक्किमका अधिकारीहरुले बताएका छन् । घाइतेहरुमध्ये नेपालकी ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनालसहित सिलिगुडीका पपल सरकार र रञ्जिता दास र कोलकाताका सुभ्र ज्योतीहरुको अस्पतालमा उपचार चलिरहेको छ । हिउँपहिरोमा दुई दर्जन जति पर्यटक पुरिएको आशंका गरिएको छ ।
पाँच सात वटा सवारी साधन हिउँ पहिरोमा पुरिएको देखिएकाले ती सवारी साधनमा कति जना छन् भन्ने यकिन हुन नसकेको अधिकारीहरुले बताएका छन् । सिक्किमको राजधानी गान्तोकलाई नाथुलासँग जोड्ने जवाहरलाल नेहरु राजमार्ग हिउँ पहिरोले अवरुद्ध हुँदा ८० वटा सवारी साधन र ती सवारी साधनमा रहेका साढे तीन सय बढी पर्यटक फसेको पनि सिक्किम सरकारले जनाएको छ ।
भारतीय सेनाले दुई दर्जन बढी पर्यटकलाई उद्धार गरेर अस्पताल भर्ना गरेको छ । सेनाले बुधबार पनि उद्धार कार्य जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस्