१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान


2.626k
Shares

काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वसको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ ।

बुधबार उहाँ त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको हो । शारीरिक अशक्त रहनुभएका उहाँका दुवै खुट्टा छैनन् । उहाँ कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।

कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ । सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ५ वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुशी लागेको बताउनुभयो ।

बुढामगरले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरुलाई खुशी दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले शारीरिक अशक्त भएका व्यक्तिहरु कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरुमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आफ्नो लागि सगरमाथा आरोहणको समय २ महिनाको हुने बताउनुभयो ।

सन् २०१० मा अफगानिस्तानको लडाईंमा बुढामगरले दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुनुहुन्छ ।

यसअघि पनि उहाँ सगरमाथाको आधारशिविरसम्म पुगिसक्नुभएको छ ।