
काठमाडौं । संसदीय समितिहरुको सभापतिमा दक्ष र योग्य व्यक्तिलाई चयन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
प्रतिनिधि सभा नियमावली प्रतिनिधि सभाबाट पारित भएसँगै संघीय संसद सचिवालय संसदीय समिति गठनको प्रक्रियामा अगाडी बढेको छ । यससँगै समिति सभापति कुन दलले कति पाउने र क–कसलाई सभापति बनाउने भन्नेतर्फ दलहरु र सांसदहरुको ध्यान गएको छ ।
सांसदहरुले समिति सभापतिमा योग्य, दक्ष र नेतृत्वदायी भुमिका निर्वाह गर्नसक्ने मान्छेलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रभावकारी काम गर्नसक्ने र समितिलाई गतिशिल बनाउनसक्ने मान्छे समिति सभापति बन्नुपर्ने बताउनुभयो । विगतमा राजनीतिक जिम्मेवारी नपाएकाहरुलाई समिति सभापति बनाउँ भन्ने दलहरुको धारणा हुँदा समिति निष्प्रभावि भएको उहाँको तर्क छ । सांसद पौडेलले ३ वटा समितिको सभापतिमा माओवादी केन्द्रको दाबी रहेको पनि बताउनुभयो ।
त्यस्तै, माओवादी केन्द्रकै सांसद लेखनाथ दाहालले राजनीतिक दलहरुका बीचमा सहमतिमा सभापति चयन गर्ने कुरालाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सहमतीका आधारमा हुँदा माओवादी केन्द्रले कम संख्यामा सभापति स्वीकार गर्ने तर निर्वाचन प्रक्रियामा सभापति चयन गर्ने अवस्थामा धेरै संख्यामा दाबी रहने बताउनु भयो ।
उहाँले समिति सभापतिमा सक्रिय र ऊर्जाशिल व्यक्ति चाहिने बताउनुभयो । निस्क्रिय मान्छेलाई पार्टीको वरिष्ठ नेता भएको आधारमा सभापति बनाउनु नहुने उहाँको भनाई छ । वरिष्ठ नेताहरुलाई सम्मान गर्ने र कनिष्ठ नेताहरुलाई काम दिने परिपाटी बसाउन आफूहरु आवाज उठाउने उहाँले बताउनुभयो ।
नेकपा(एमाले)का सांसद राजेन्द्रकुमार राईले समितिलाई व्यवस्थित ढंगले सञ्चालन गर्न सक्ने व्यक्ति सभापति बन्नुपर्ने बताउनुभयो । उहाँले योग्य र दक्ष व्यक्तिको चयन गर्नुपर्नेमा जोड दिनुभयो । अन्य राजनीतिक दलमा समिति सभापति चलाउने योग्यता र दक्षता भएकाहरु निकै कम भएको भन्दै उहाँले पाँचदेखि सात वटा समिति सभापतिमा एमालेको दाबी रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका सांसद श्याम घिमिरेले संसदीय अभ्यास बुझेका र अध्ययनशिल व्यक्तिलाई समिति सभापति छनौट गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले पाँचवटा भन्दा बढी समिति सभापति पाउनुपर्ने माग गर्नुभयो ।
यता, समिति सभापति चयन गर्दा महिलाहरुको समान प्रतिनिधित्वको आवाज पनि महिला सांसदहरुले उठाइरहेका छन् । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले दशवटा विषयगत समितिमध्ये महिलाहरुलाई ५० प्रतिशत समिति सभापति दिनुपर्ने बताउनुभयो । सो आवाज आफूहरुले पार्टीभित्र पनि राखिसकेको बताउनुभयो ।
नेपाली कांग्रेसकै सांसद नागिना यादवले सक्षम महिलालाई समिति सभापति बनाउनुपर्ने माग आफूहरुले पार्टीभित्र राखिसकेको बताउनुभयो । समिति सभापति चयन गर्दा समानुपातिक र समावेशि रुपमा गर्नुपर्नेमा उहाँको जोड छ ।
सांसद यादवले नेपाली कांग्रेसले पाँच वटा समिति सभापतिमा दाबी रहेको भन्दै त्यति पाएमा महिलालाई कम्तिमा दुईवटा समिति सभापति अनिवार्य दिनुपर्ने माग रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्