
काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाईटेडले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा नेपाल पुलिस क्लबले जारी लिगमा पहिलो जित निकालेको छ ।
सातौं चरण अन्तर्गत चर्च ब्वाइज र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् भने पुलिसले फ्रेण्ड्समाथि ३–१ को जित निकाल्दै जारी लिगमा पहिलो जित निकोको हो । नवप्रवेशी चर्च व्वाईज र एपिएफबीचको खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । निर्धारित समयमा दुवै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न असफल भएका थिए । यस बराबरीसँगै चर्च ब्वाइजले ७ खेलमा १३ अंक जोडेको छ । यस्तै एपीएफले ७ खेलमा ११ अंक जोडेको छ ।
लिग अन्तर्गत आजै भएको अर्को खेलमा विदेशी खेलाडी भित्र्याएको नेपाल पुलिस क्लवले जारी लिगमा पहिलो जित निकोको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले ललितपुरको टोली फ्रेण्ड्स क्लबलबाई ३–१ गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो ।
पुलिसले सातौं चरणको खेलमा पहिलो पटक स्पष्ट अंक जोड्न सफल भएको हो । अघिल्लो खेलहरुमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गर्दा विदेशी खेलाडी मोसेसले डेब्युमा नै गोल गरे ।
यस्तै, फ्रेण्ड्सका पनि विदेशी खेलाडी टोरिक जेब्रिनले सान्त्वना गोल फर्काएर अन्तर घटाएका थिए । जितसँगै पुलिसले ७ खेलबाट तालिकामा ४ अंक पुर्याएको छ । फ्रेण्ड्सको पनि ७ खेलमा समान ४ अंक नै भएको छ । लिगमा मंगलबार दुई खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवसँग प्रतिष्पर्धा गर्दा च्यासल मैदानमा मच्छिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबसँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्