
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले व्यवसायीसँग घुस मागेको विषयमा सांसद ढाकाकुमार श्रेष्ठसँग मंगलबार बयान लिएको छ ।
रास्वपा अनुशासन समितिले मंगलबार पार्टी कार्यालयमा सांसद ढाकाकुमारसँग एक घण्टा बयान लिएको हो ।
श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएपछि पार्टीमाथि नै प्रश्न उठेकाले उनीसँग बयान लिईएको हो ।
अडियो टेप सार्वजनिक भएपछि पार्टीको निलम्बनमा परेका उनीमाथि छानबीन प्रक्रिया अघि बढेको हो । रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाका अनुसार बयानका क्रममा पनि सांसद श्रेष्ठले अडियोमा सुनिएको आवाज आफ्नो नभएको र एडिट गरिएकोे दाबी गर्दै यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।
यसअघि पार्टीको आदेश अनुसार श्रेष्ठले सोमबार पार्टीलाई स्पष्टीकरण बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्