
काठमाडौं । लघुवित्त वित्तीय संस्थाका समस्यालाई राजनीतिकरण नगर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
लघुवित्त वित्तीय संस्थाका समस्या समाधान गर्नुको सट्टा राजनीतिक फाइदाका लागि राजनीतिकरण गर्ने काम बन्द गर्न उनीहरुले आह्वान गरेका हुन् ।
राजनीतिक उद्देश्यले प्रेरित अभिव्यक्ति वा राजनीतिक संगलनता बन्द गर्नुपर्नेमा उनीहरुको आग्रह छ ।
उनीहरुले लुघवित्त वित्तीय संस्थाहरुमा आएका विविध समस्याको समाधानकालागि अग्रसर हुन राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् । पूर्व गभर्नर एवं पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्तका समस्यालाई राजनीतिकरण नगर्न सचेत गराउनुभएको हो ।
उहाँले सहकारी र लघुवित्तबाट कर्जा लिएर नतिर्ने भन्नेहरुलाई राजनीतिक पार्टीका सांसद तथा नेताले समर्थन गर्नु गलत भएको बताउनुभयो । उहाँले ऋण लिएर पैसा तिर्न नपर्ने अभियान चलाउने अराजक तत्वहरुलाई सरकारले कारबाही गर्नुपर्ने बताउनुभयो ।
उहाँले लघुवित्तका आन्तरिक समस्याको विषयमा घरभित्र बसेर छलफल गर्नुपर्ने बताउनुभयो ।
यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त क्षेत्रमा मसिनो ढङ्गले सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले लघुवित्त क्षेत्रको सुधारकालागि उच्चस्तरीय समिति बनाएर लागेको बताउनुभयो । उहाँले लघुवित्त कर्मसियल बैंकका रुपमा जान हुने थियो वा थिएन भन्ने विषयमा अध्ययन गरेर उचित निर्णय लिनुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्दिन भन्नु जति अर्को अराजक केही हुन नसक्ने बताउनुभयो । उहाँले यस्तो अराजक गतिविधिले वित्तीय प्रणालीलाई असर गर्ने भन्दै यो विषयमा राष्ट्र बैंक सजग रहेको बताउनुभयो ।
यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले वित्तीय संस्थाबिरुद्धको अभियानका कारण कर्मचारीको मनोबल कम भएको बताउनुभयो । उहाँले निर्वाचनको बेलामा राजनीतिकरण गर्नको लागि बैंक तथा वित्तीय संस्थाप्रति आक्रमण भइरहेको बताउनुभयो । उहाँले धेरै ऋण लिएर ऋण नतिर्न र अन्य सोझा जनतालाई समेत जम्मा गरेर भ्रम छर्ने काम भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्