
काठमाडौं । बैशाख २९ गते रिलिज हुने प्रतिक्षित नेपाली चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर रिलिज भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो ।
हरेक नेपालीको घरको कथा भन्ने यस चलचित्रको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ ।
ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको छ । गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाउने कोसिस गरिएको छ । चलचित्रमा अभिनेता त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् ।
यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ ।
महेश त्रिपाठी र विनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह(लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।
यो चलचित्र पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटाले बताए ।
अभिनेत्री थापाले आफुले बर्षौँ लगाएर सिकेको अभिनयको अनुभव यो चलचित्रमा देखाउने मौका पाएको बतइन् । त्यस्तै, कलाकार शारदा गिरीले आफु ‘हल्कारा’मा अन्य चलचित्रहरु भन्दा भिन्न भूमिकामा रहेको बताइन् ।
यो चलचित्रले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्तिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् ।
साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म् ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।
यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । ‘हल्कारा’का कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् । काठमाडौं उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो चलचित्रको एफडी कम्पनीले वितरण गर्ने छ । ‘खल्ती डिजिटल वालेट’ टिकेटिङ्ग पार्टनरको रुपमा रहेको छ भने कम्युनिटी पार्टनर ‘नेपाली पात्रो’ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्